Skip to main content

लमही सह-लगानी खानेपानी सरसफाई आयोजनाका लागि मिति २०८२।१०।२७ मा कोषका कार्यकारी निर्देशक श्री इ.विनोद प्रकाश पण्डितज्यू र लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष श्री सनम कुमार पौडेलज्यू बीच रू. ८ करोड ८३ लाख ७८ हजारको ऋण सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ ।

सम्झौता कार्यक्रममा लमही नगरपालिकाको तर्फबाट नगर कार्यपालिका सदस्य श्री चन्द्रा चौधरीज्पयूले जमानतकर्ताको रुपमा हस्ताक्षर गर्नुभएको थियाे । कार्यक्रममा उपभोक्ता संस्थाका सचिव श्री बसन्त आचार्य, कोषाध्यक्ष, श्री श्याम लाल भण्डारी र कार्यालय प्रमुख श्री भगवती चौधरीको समेत उपस्थिती रहेको थियो ।

सन् २०१५ मा दोस्रो साना शहरी खानेपानी तथा सरसफाई आयोजना अन्तर्गत निर्माण सम्पन्न भै निरन्तर संचालनमा आएको लमही खानेपानी सरसफाई आयोजनाको सेवा विस्तार, स्तरोन्नती तथा स्रोत बृद्धि गरी उपभोक्ताहरुलाई गुणस्तरीय तथा सहज ढंगबाट खानेपानी उपलब्ध गराउन यस आयोजनाको कार्यान्वयन गरिएको छ ।

लमही सहलगानी खानेपानी तथा सरसफाई आयोजनाको निर्माण, सञ्चालन तथा व्यवस्थापन गर्न खानेपानी तथा ढल व्यवस्थापन विभागबाट छनौट भएको बोलपत्रदाताले पेश गरेको ठेक्का कबोल अंक रू. ३५ करोड ३५ लाख १५ हजारको २५ प्रतिशतले हुने रकम कोषको तर्फबाट ऋण, नेपाल सरकारबाट ७० प्रतिशत अनुदान र ५ प्रतिशत रकम लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाबाट व्यहोरिनेछ ।

सम्झौता कार्यक्रममा उपभोक्ता संस्थाका अध्यक्षज्यूले आयोजनाको स्त्तरोन्न्ती र सेवा प्रवाह विस्तारका लागि नगर विकास कोषको ऋण सहयोग महत्वपूर्ण रहेको बताउँदै आयोजनालाई दिगोरुपमा संचालन र व्यवस्थापन गराउनेमा प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नगर विकास कोषका कार्यकारी निर्देशकज्यूले आयोजनालाई दिगोरुपमा संचालन र व्यवस्थापन गर्न आयोजनाको नियमित रुपमा मर्मत सम्भारमा विशेष ध्यान दिनुपर्नेमा जोड दिंदै उपभोक्ता संस्थाको संस्थागत विकासमा नगर विकास कोषको सहयोग रहने बताउँदै आयोजनाको सफल कार्यान्वयनका लागि शुभकामना व्यक्त गर्नुभयो ।